काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने हुनुभएको छ । पुनःस्थापित प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद् सचिवालयमा दर्ता भैसकेको छ ।
आजै बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुने सचिवालयले जनाएको छ ।
सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा साथ दिएका एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले देउवालाई विश्वासको मत दिने सम्भावना रहेको बताइएको छ ।
यता, एमालेको संस्थापन पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । यदि, आज नेपाल समूले देउवालाई विश्वाससको मत दिएमा एमाले फुट्ने निश्चित हुनेछ ।
सर्वोच्च अदालतको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यस्तै प्रतिनिधिसभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ ।
सभामुख सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।