काठमाडौं । प्रदेश दुई का मुख्यमन्त्री लालबाबु राउतले आज (शनिबार) मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।
माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।
महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिने माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले जानकारी दिनुभयो ।
माओवादीबाट मन्त्री बन्न लागेका साहले अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने स्रोतले बताएको छ । यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।
प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ । उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।