काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापना भएसँगै नेकपा एमालेको आन्तरिक विवाद थप जटिल मोडमा प्रवेश गरेको देखिएको छ । कार्यदलले लामो प्रयासपछि असार २७ मा १० बुँदे सहमति गरेसँगै एमाले विवाद निरुपन हुने विश्वास गरिएको थियो ।
तर, सहमति भएको भोलिपल्ट असार २८ गते सर्वोच्चले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा गरिएको संसद विघटनलाई बदर गरेपछि एमालेको विवाद थप चुलिएको छ ।
सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको भन्दै उहाँलाई प्रधानमन्त्री नियुक्त गरेपछि माधव नेपाल नै सम्पूर्ण रुपमा यसको दोषी भएको अध्यक्ष ओलीको दाबी छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्नुभएका ओलीले नेता नेपालकै कारण अनपेक्षित फैसला आएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको थियो ।
नेपाल समूहमा रहेका पार्टीका अन्य नेताहरु आत्मालोचना गरेर आए क्षमा दिने तर माधव नेपाललाई भने आत्मालोचना र क्षमा–याचना गर्ने कुनै ठाउँ नै नरहेको भन्दै अध्यक्ष ओलीले परोक्ष रुपमा एमाले फुटेको उद्घोष गर्नुभएको थियो । त्यसपछि पहिलो पटक आज एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बसेको हो ।
बिहान ललितपुर च्यासलमा बसेको उक्त बैठकले कार्यदलमा भएको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ । यद्यपि, वरिष्ठ नेता नेपाल त्यसप्रति असन्तुष्ट हुनुहुन्छ । यसअघि पनि विवाद समाधानका लागि अथक प्रयासहरु भएको आगामी दिनमा पनि एकताका लागि भेटवार्ता तथा छलफललाई जारी राखिने नेता प्रदीप ज्ञावालीले बताउनुभयो ।
आज बसेको उक्त बैठक रोक्नुपर्ने र थप अनौपचारिक छलफल गर्नुपर्ने अडान नेपाल पक्षको थियो । बैठक रोक्न आग्रह गर्दै भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेपाल पक्षका नेताहरु बैठक स्थल पुगेका थिए ।
तर ओलीले बैठक नरोक्ने अडान दोहो¥याउँदै बैठक जारी राखेपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए । बैठकस्थलबाट बाहिरिँदै नेता भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिनुभयो ।
उहाँले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको बताउनुभएको छ । ओलीको अभिव्यक्ति र व्यवहारले एमाले पार्टी एकता जटिल बन्दै गएको नेता रावलको दाबी छ ।
यता ओली पक्षले भने यसअघि पनि नेपाल पक्षको मागमा पटक–पटक बैठक स्थगित गरिएको बताएको छ । ओली पक्षका नेता प्रदीप ज्ञवालीले पार्टी आफ्नो लय र गतिमा अघि बढिरहेन भएकाले सधैँ बैठक रोकिराख्न सम्भवन नभएको बताउनुभयो । अनन्तकालसम्म पर्खेर बस्न सम्भवन नहुने नेता ज्ञवालीको तर्क छ ।
स्थायी कमिटीपछि एमालेको संसदीय दलको बैठक पनि आज नै बसेको थियो । स्थायी कमिटी रोक्न आग्रह गरेको नेपाल समूह संसदीय दलमा पनि गएको थिएन । संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु एकताकै पक्षमा रहेको बताउनुभयो ।
असन्तुष्ट माधव समूहलाई पनि अर्को बैठकमा उस्थित हुने गरी यो बिचमा वातावरण निर्माण गरिने भट्टराईको भनाइ छ ।
एमालेले प्रधानमन्त्री शेरबहादुर देवालाई विश्वासको मत नदिन निर्दशन पनि जारी गरेको छ । यद्यपि, प्रधानमन्त्री देउवाको पक्षमा मदान गर्दा पनि पार्टी कारबाही गर्न नपाउने गरी सर्वोच्चले बाटो खुला गरिदिएको छ ।
एमाले अध्यक्ष ओलीलाई प्रतिस्थापन गर्दै प्रधानन्त्रीमा बन्नुभएका देउवाले नियुक्तिको ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संसदको अधिवेशन साउन ३ गतेका लागि बोलाइएको भएपनि प्रधामन्त्री देउवाले विश्वासको मत कहिले लिन्छन्, त्यो भने टुंगो लागि सकेको छैन ।
प्रधानमन्त्री देउवा अहिले विश्वासको मत जुटाउने प्रयत्मा हुनुहुन्छ । एमाले भित्रको यो अन्तरसंघर्ष यसरी नै कठिन बन्दै जाने र विवाद नसुल्झने हो भने यसको लाभ प्रधानमन्त्री देउवाले लिने पक्का छ ।