काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज(शुक्रबार) बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो । साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताउनुभयो ।
बैठकमा माधव नेपाल पक्षका सांसदसहित पार्टीका सबै १२१ सांसदलाई बोलाइएको बताइएको छ ।
तर, ओलीले बोलाएको उक्त बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ ।
पार्टीभित्र विवाद रहेको र त्यसमा समझदारी नभएसम्म कुनै पनि बैठकमा नजाने नेपाल पक्षका सांसद विरोध खतिवडाले बताउनु भएको छ । एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका २६ सांसदले प्रधानमन्त्रीमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ओली प्रधानमन्त्रीबाट हट्नुभएको थियो ।