काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व माओवादी घटकहरुको एकताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विशेष प्रस्ताव गर्नुभएको छ ।
बुधबार प्रचण्ड निवास खुमलटार पुगेर विप्लवले माओवादी शक्तिहरुको एकताका लागि प्रचण्डलाई आग्रह गर्नुभएको हो ।
विगतमा भएका गल्ती र कमि कमजोरीहरुलाई सुधारेर नयाँ ढंगले माओवादी आन्दोलन अघि बढाउन विप्लवले गरेको आग्रहमा प्रचण्डले पनि सहमति जनाउनुभएको भेटवार्तामा सहभागी पूर्व बाललडाकू लेनिन विष्टले बताउनुभयो ।
सुधारिएको व्यवहारसहित पार्टी एकताका लागि विप्लवले प्रस्ताव गरेपछि प्रचण्डले त्यसमा सहमति जनाउनुभएको विष्टले जानकारी दिनुभयो ।
प्रचण्डलाई भेट गरेर पूर्व माओवादीको एकताका लागि प्रस्ताव गरेको भोलिपल्ट विप्लवले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्नुभएको छ ।
कोटेश्वरस्थित नेपाल निवासमा विप्लव–माधव वार्ता चलिरहँदा प्रचण्ड पनि त्यहाँ मिसिनुभएको थियो ।
तीन नेताबीच वामपन्थी एकताका लागि छलफल भएको श्रोतले बताएको छ । माओवादी नेताहरु पूर्व माओवादीसँगै एमालेको माधव समूहलाई समेत समेटेर नयाँ पार्टी निर्माण गर्ने कसरतमा छन् ।
त्यसकै सिलसिलास्वरुप आज विप्लव–प्रचण्ड र नेपालबीच भेटवार्ता भएको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताउनुभयो ।
भैसकेको कम्युनिष्ट एकतालाई केपी ओलीले भंग गरेको आरोप लगाउँदै उहाँले वामपन्थी एकताका लागि फेरि पनि सक्रियता सुरु भएको जानकारी दिनुभयो ।
केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर हिंसात्मक आन्दोलन त्यागी विप्लव समूह मुलधारको राजनीतिमा आएको थियो ।
तर ओली सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएलगत्तै विप्लवले राजनीतिक भेटघाट बढाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
राजनीतिक विश्लेषक डा. लोकराज बरालले वामपन्थी एकताकै लागि विप्लवले भेटवार्ता बढाएको हुन सक्ने बताउनुभयो ।
कतिपयले अहिले कम्युनिष्ट एकता भंग भए पनि आउँदो चुनावअघि केपी ओली, माधव नेपाल र प्रचण्डहरु फेरि एकै ठाउँमा आउने दाबी पनि गरेका छन् ।
तर विश्लेषक बराल तत्काल ओलीले माधव नेपाल र प्रचण्डसँग कुनै किसिमको सहकार्य गर्न सम्भावना निकै नै कम रहेको बताउनुहुन्छ ।
एमाले एकताका लागि भएको १० बुँदे सहमति पनि अहिले धरापमा परेको छ ।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने माधव नेपाललाई एमालेमा स्थान दिन नसकिने बताएपछि एमाले एकता धरापमा परको हो ।
तर दोस्रो तहका नेताहरुले एकता कायम गर्न प्रयास छाडेका छैनन् ।