काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै ठाउँ नभएको बताउनुभएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास भक्तपुरको बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै एकालेका अध्यक्षसमेत रहेका ओलीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले आत्मआलोचना गरेर आए अन्य नेतालाई पार्टीमा ठाउँ भएको भए पनि नेता नेपालका लागि भने ठाउँ नभएको प्रष्ट पार्नुभयो ।

‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ’, बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’
ओलीलाई आज दिउँसो एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका कार्यकर्ताले बाजागाजासहित बालुवाटारबाट बालकोट लगेका हुन् ।
यसअघि ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका थिए । त्यसअघि एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको थियो ।
बालकोट पुगेर ओलीका समर्थकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेकै वरिष्ठ नेता नेपालविरूद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘माकुनेलाई फाँसी दे’, प्रचण्डलाई फाँसी दे’जस्ता नारा लगाएका थिए ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त हुनु भएको हो । उहाँ दोस्रो कार्यकालसँगै झण्डै साढै तीन वर्ष प्रधानमन्त्री हुनुभयो ।