काठमाडौं । नयाँ सरकार बनाएका सत्तारुढ गठवन्धनका दलहरुले सरकारमा रहँदा “हाम्रोभन्दा राम्रो रोज्ने” नीति बनाएको नेताहरुले दावी गरेका छन । राम्रो काम गरेर देखाउन अहिलेको सरकारको प्रमुख चुनौती भएकाले त्यसका लागि गठबन्धन अन्तर्गतका सवै दलहरुले हाम्रोभन्दा राम्रोलाई प्राथमिकता दिने नीति बनाएका हुन् ।
गठबन्धन मध्येको प्रभावशाली दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारको मुल चूनौति भनेकै राम्रो काम गर्ने भएकोले त्यसका लागि लिनु पर्ने सवै नीति लिइने जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो,–“यो सरकारसामू चूनौति भनेको राम्रो काम गर्ने हो, त्यो पनि हरेक क्षेत्रमा, त्यसका लागि के के गर्नुपर्दछ, त्यो सवै गर्ने बारेमा गठबन्धन भित्र छलफल भएको छ ।”
उहाँले मन्त्रीहरुको चरित्र, कार्यशैली र क्षमताले पनि सरकारको काम कारबाहीमा ठूलो फरक पार्ने भएकाले मन्त्रीहरुको छनौट गर्दा सक्षम नेताहरुलाई छनौट गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
“मन्त्री छनौट गर्दा मुख हेर्नेभन्दापनि सरकारबाट डेलिभरी गर्नसक्ने, राम्रो सर्भिस दिन सक्ने, जनतालाई विश्वासमा लिनसक्ने नेताहरुको टिम चाहीँ त्यहाँ हुनुपर्छ भन्ने म ठान्दछु,” अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले आफ्नो पार्टीले यसलाई ध्यान दिने र कांग्रेससहित अन्य दलहरुले पनि त्यसरी नै सोचुन भन्ने अपेक्षा व्यक्त व्यक्त गर्नुभयो ।
“हामी ५ पार्टीले छलफल गरेर यही निर्णय गरेका छौं । हामीले राम्रो काम गर्नैपर्छ, त्यसका लागि अपनाउनु पर्ने रणनीति पनि अपनाउने छौं,” अध्यक्ष प्रचण्डले भन्नुभयो ।
उहाँले राजनीतिक नैतिकताका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद त्याग गर्नु राम्रो हुने सुझाव पनि दिनुभयो । राष्ट्रपतिलाई नयाँ गठबन्धन सरकारसँग काम गर्न सहज हुन्छ भन्ने आफुलाई नलागेको पनि प्रचण्डले बताउनुभयो ।
“उहाँले विगतमा राष्ट्र र संविधान विरोधी काम धेरै गरेकाले आगामी दिनमा उहाँलाई सहज छैन, त्यसैले आफै बाहिरिनु राम्रो हुन्छ, उहाँलाई महाअभियोग लगाउने बारेमा भने संसद र पार्टी भित्र छलफल हुनसक्छ, तर पाँच पार्टीमा अहिलेसम्म छलफल भएको छैन,” उहाँले भन्नुभयो ।