काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर असन्तुष्टि जनाउनुभएको छ । यद्यपि, उहाँले संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गर्ने बताउनुभएको छ ।
सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै ओलीले त्यसको समीक्षा भविष्यमा हुने बताउनुभयो ।
’लोकतन्त्रको रक्षा, विकास र सुदृढीकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ? राजनीतिक स्थायित्वलाई बल पु¥याए कि क्षति ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा राजनीतिलाई अग्रगामी दिशा दिए कि पछाडि फर्काए ? समीक्षा भविष्यले गर्ने नै छ,’ ओलीले सिंहदरबारबाट राष्ट्रको नाममा गरेको सम्बोधनमा गर्दै भन्नुभयो, ’सर्वोच्चका फैसलाको समयले आफ्नो कसीमा घोटेर यिनको औचित्यबारे अग्निपरिक्षा गर्नेनै छ । एमाले संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेको कुरा म जानकारी गराउन चाहन्छु ।’
संविधानको धारा ७६ को उपधारा ५ मा ह्वीप नलाग्ने लगायतबारे सर्वोच्चले गरेका फैसलालाई लिएर प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभएको छ । उहाँले फैसलाका भाषालाई लिएर पनि असन्तुष्टि जनाउनुभएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वादी पक्षले पनि मागदाबी नगरेका विषयमा अदालतले फैसला दिँदा अब झनै समस्या सिर्जना हने दाबी गर्नुभयो ।
‘वादी पक्षले पनि मागदाबी नगरेका विषयमा अदालतले फैसला दिँदा झनै समस्या सिर्जना हुन्छ’, उहाँले भन्नुभयो ।
फैसलाबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले नै थापा पाएको भन्दै सर्वोच्चको फैसलामाथि नै प्रश्न उठाउनुभयो ।
सर्वोच्चको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरको थियो । देउवाले आज साँझ सपथ खाने कार्यक्रम छ ।