काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै हुनुहुन्छ । आजै साँझ ५ बजेपछि सपथको कार्यक्रम छ ।
यसैबीच, देउवाले आजै सानो मन्त्रिमण्डलसमेत गर्ने बताइएको छ । मन्त्रिमण्डलमा कांग्रेससँगै माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा जाने निश्चित छ ।
देउवाले आज तीनदेखि पाँचजनासम्मको मन्त्रिमण्डल गठन गर्ने बताइएको छ । कांग्रेसबाट सुजाता कोइराला, वालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डा. मीनेन्द्र रिजाल, गगन थापा, सञ्जय गौतम, मीनबहादुर विश्वकर्मा आदिको सम्भावना रहेको बताइएको छ । कोइरालालाई उपप्रधानसँगै परराष्ट्र, कार्कीलाई अर्थ, थापालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइने चर्चा छ ।
त्यस्तै, मओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले नेतृत्व गर्ने सम्भावना रहेको बताइएको छ । उहाँलाई उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा लगिने बताइएको छ । जनार्दन शर्मालाई गृह मन्त्रालय दिने सम्भावना रहेको चर्चा छ ।
यता, जसपाबाट भने स्वयम् यादवको नाम उपप्रधानमन्त्रीमा रहेको चर्चा छ ।