काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति लामो समयदेखि असन्तुष्ट रहेको नेपाली काँग्रेसले उहाँलाई महाअभियोग लगाउने तर्फ भने नलाग्ने संकेत गरेको छ । विगतमा जे जस्तो भएपनि आगामी दिनदेखि राम्रो काम उहाँबाट हुने अपेक्षा गर्दै विगतको प्रतिशोध लिनु राम्रो नहुने काँग्रेसका नेताहरुको भनाई छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनु हुने नेता तथा कानुनविद रमेश लेखकले उहाँलाई महाअभियोग लगाउने तर्फ जान नहुनेमा जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कसँग उहाँले भन्नुभयो, “विगतमा उहाँले गल्ती त गर्नु भएकै हो, अदालतले पनि भनेको छ, तर त्यही गल्तीलाई लिएर कसैप्रति प्रतिषोधात्मक भावना र व्यवहार गर्नुहुदैन ।”
काँग्रेसका अर्का नेता डा चन्द्र भण्डारीले पनि राष्ट्रपति प्रति कुनै नकारात्मक व्यवहार काँग्रेसले गर्न नहुने धारणा राख्नुभयो । “विगतमा उहाँले विभिन्न परिस्थीतिले जानेर वा नजानेर वा चाहेर वा नचाहेर गर्नुभयो होला, अव राम्रो गर्नुभयो भने त्यसमा निहुँ खोजिरहनु उपयुक्त हुदैन,” उहाँले भन्नुभयो ।
नेता भण्डारीले महाअभियोगतिर लागियो भने राजनीति फेरि नराम्रो बाटो तर्फ जाने भएकाले सकेसम्म सवैलाई समेटेर परिपक्व तरिकाले अगाडि बढ्ने तर्फ काँग्रेस लाग्ने बताउनुभयो