Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सर्वाेच्चको फैसलाले एमाले आक्रोशित, विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको संकेत

सर्वाेच्चको फैसलाले एमाले आक्रोशित, विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको संकेत

  • सोमवार, आषाढ २८ २०७८

  • 1.9K
    SHARES

  • सर्वाेच्चको फैसलाले एमाले आक्रोशित, विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको संकेत

    काठमाडौँ – संसद विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतले जारी गरेको परमादेशप्रति नेकपा एमाले आन्दोलित भएको छ।

    एमाले नेताहरुले सर्वाेच्चको यो फैसलालाई ‘न्यायिक कू’को संज्ञा दिँदै देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। आक्रोशित नेताहरुले अदालतले राजनीतिक सुरु गरेको आरोप पनि लगाएका छन्।

    कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी आएको आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

    एमालेले भोलि (मंगलबार) स्थायी कमिटीको बैठक बसेर सर्वाेच्चको फैसलाबारे आधिकारिक धारणा बनाउने बताएको छ।

    तर सर्वाेच्चको फैसलाको विरोधमा आज काठमाडौँमा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका छन्।

    यो विरोध प्रदर्शनलाई देशव्यापी रुपमा बिस्तार गर्ने चेतावनी पनि एमाले नेताहरुले दिएका छन्।

    माइतीघर मण्डलामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतले लोकतन्त्र विरोधी शक्तिहरुले अन्तराष्ट्रिय शक्तिहरुसँगको सेटिङमा सर्वाेच्च अदालतलाई घाँस खुवाएका आधारमा आजको फैसला आएको बताउनुभयो।

    उहाँले मुलुकमा नयाँ खिलराज रेग्मी जन्माउने प्रयास भैरहेको बताउनुभयो। एमालेलाई हराउने चाहना भए कांग्रेस प्रवेश गरेर आउन उहाँले प्रधानन्यायाधीश राणालाई चुनौती पनि दिनुभयो।

    नेता बस्नेतले संसद विघटन बदर गर्ने सर्वाेच्चको आजको फैसलालाई कुनै हालतमा स्वीकार नगरिने बताउनुभयो। यो फैसलाले मुलुक द्वन्द्वमा प्रवेश गरेको पनि उहाँले घोषणा गर्नुभयो।

    अदालतले राजनीतिक द्वन्द्वलाई समाधान गर्नुको साटो जन्म दिएकोले यो फैसला जनताले नमान्ने उहाँले जिकिर गर्नुभयो।

    यता अदालतको आजको फैसलापछि विपक्षी गठबन्धनमा भने उत्साह छाएको छ। अब फैसला बमोजिम देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न लाग्ने निर्णय गठबन्धनको बैठकले गरेको छ।

    आज साँझ बसेको गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवाको नेतृत्वमा बन्ने सरकारलाई सफल बनाउन अब आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो।

    उहाँले एमाले फुटोस् भन्ने चाहना अब आफूमा नरहेको बताउनुभयो। बरु एमालेको नेतृत्व माधव नेपालको हातमा आइदेओस् भन्ने आफ्नो चाहना स्वभाविक रहने प्रचण्डले बताउनुभयो।

    तर यता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गर्नुभएको छ।

    सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने फैसला सुनाएपछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको बताउनुभएको हो।

    कोटेश्वरमा आफ्नो निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको बैठकमा एमाले नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेको सुनाउनुभयो।

    उहाँको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको बैठकमा सहभागी एक नेताले बताउनुभयो। यद्यपि नेता नेपालले धेरै खुलेर नबोलेको उहाँले सुनाउनुभयो।


    सोमवार, आषाढ २८ २०७८०७:४९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij