काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ बस्दै छ । आइतबारका लागि बोलाइएको बैठक कार्यदलमा सहमति जुट्न ढिलाइ भएपछि आजका लागि सारिएको थियो । एमाले एकता कार्यदलले हस्ताक्षर गरेको १० बूदे सहमति अनुमोदनका लागि साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र एमाले पुनःस्थापनापछि स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका माधव नेपाल पक्षका नेताहरु पहिलो पटक पार्टी बैठकमा सहभागी हुँदैछन् । २०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने भएका छन् ।
यसअघि माधव पक्षबिनाको एमालेमा ती नेता स्थायी कमिटी सदस्यकै हैसियतमा क्रियाशील छन् । नेकपाकालीन स्थायी कमिटीमा एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त, बिष्णु रिमाल, रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहनेछन् । त्यस्तै पुस ५ पछि नेकपामा ओलीलाई साथ दिएका र एकता बदरपछि ओलीसँगै रहेका रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुनेछन् र एमाले एकताको मस्यौदा अनुमोदन गर्नेछन् ।
यससँगै २०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ । यस्तै, भोलि केन्द्रिय कमिटी बैठक पनि बोलाइएको छ । भोलि बिहान ११ बजेका लागि केन्द्रिय कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।