काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटप्रति आपत्ति जनाउनु भएको छ ।
सामाजिक सञ्जल मार्फत नै आज विहान उहाँले थापाको स्टाटस गएराती कार्यदल स्तरमा भएको सहमतीको भावना मर्म विपरित भएको उल्लेख गर्नुभएको छ ।
सल्लाहकार थापाले गएराती नै शेर बहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सांसदहरु मध्ये १४६ जनाको समर्थन रहेकोमा माधव नेपाल पक्षमा २३ जनाको समर्थन फिर्ता हुने र अव उहाँलाई १२३ जनाको मात्रै समर्थन रहने व्याख्या गर्नुभएको छ ।
देउवाको पक्षमा बहुमत नपुग्ने भएपछि सर्वोच्च अदालतले परमादेश पनि गर्न नमिल्ने र पुनस्र्थापना पनि गर्न नमिल्ने थापाको आशयप्रति नेपालले आपत्ति जनाउनु भएको हो । प्रेस सल्लाहकारको अभिव्यक्तिमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको समर्थन रहने भएकाले उहाँको बुझाइ अझै पनि गलत रहेको बरिष्ठ नेता नेपालको आशंका छ ।
नेता नेपालले लेख्नु भएको छ, “हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।”
उहाँले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पार्नु भएको छ । साथै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको पनि बरिष्ठ नेता नेपालले जानकारी दिनुभएको छ ।