काठमाडौं – नेकपा (एमाले)को आन्तरिक विवाद समाधान गर्न गठन गरिएको संयुक्त कार्यदलको ‘फाइनल’ बैठक सिंहदरबारमा जारी छ । केही दिनदेखि सहमति गर्न निरन्तर लागि रहेका कार्यदलका नेताहरुले आज सकारात्मक नतिजा आउने दावी गरिरहेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमाथिको फैसला आउनु अगावै सहमति जुटाउने प्रयास भइरहेको छ ।
शुक्रबार भएको कार्यदल बैठकपछि अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले आज सुखद समाचार सुनाउने बताउनुभएको थियो । उहाँले सबै विषय मिलिसकेकोसमेत दावी गर्नु भएको थियो ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल निकट कार्यदलका सदस्य गोकर्ण विष्टले पनि आज सहमति जुट्ने बताएका थियो । उहाले केही विषयमा कुरा मिलाउन बाँकी रहेको बताएका थियो । तर, के–के कुरा मिल्यो के के बाँकी भन्ने विषयमा भने दुबै नेताहरुले खुलाउन चाहेका थिएनन् ।
संसद् विघटनबारे सर्वोच्चले सोमबार फैसला गर्ने सम्भावना भएकाले आज एमालेको विवाद समाधान गर्न अधिकतम प्रयास गर्ने बताइएको छ ।
नेकपाकालीन विवाद एमाले ब्युँतिएपछि एमालेमै सरेको थियो । शुरुमा माधव समूहलाई अलग राखेर अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै आउनु भएको आरोप थियो । तर अहिले माधव समूहले समानान्तर गतिविधि गर्दै आएको छ । तर, पछिल्लो समय दुवै समूह लचिलो हुँदै विवाद समाधान गर्न तयार देखिएका छन् ।
दुवै समूहका नेताहरुले एमाmे एकता कायम हुने दाबी गरिहेका छन् ।