काठमाडौं – नेकपा (एमाले)मा एकता प्रयास भइरेहका वेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्ड नेता नेपाललाई भेट्न बिहान साढे ११ बजे उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो । दुई नेताबीच करिब १ घन्टा छलफल भएको स्रोतले जनाएको छ ।
एमाले विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरि आज सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । यसलाई दुवै पार्टीका नेता–काष्र्यकर्तासँगै राजनीतिक विश्लेषकहरुले पनि अर्थपूर्ण रुपमा हेरेका छन् ।
प्रचण्ड यसअघि मंगलबार पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । तत्कालीन नेकपामा हुँदा एकै समूहमा रहेका प्रचण्ड र नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दीमा हुनुहुन्थ्यो ।
यसैबीच, एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् ।
बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुने कार्यदलका सदस्यहरुले बताएका छन् । जसमा एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद् विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने र शक्ति सन्तुलनज्स्ता विषय रहेका छन् ।
प्रतिनिधिसिभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने विषयमा भने दुई पक्षमा सहमति भएको छैन । नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ, बरु अदालतको फैसला आएपछि साझा धारणा बनाउने गरी सहमति खोज्नुपर्ने उहाँ पक्षका नेताहरुले बताएका छन् ।
कार्यदलका सदस्यहरुले भने विवादमा विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन् ।