काठमाडौं । पार्टी भित्रको विवाद मिल्नेमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले अझै पनि आशंका व्यक्त गरेका छन् । लिखित सहमती सार्वजनिक भएर कार्यान्वयनमा नआउदाँसम्म विवाद समाधान भयो भनेर विश्वास गर्न नसकिने उनीहरुको भनाई छ ।
अहिले भइरहेको छलफलमा मतमतान्तरहरुको दिर्घकालिन समाधान हुनेगरी कुनै उपायहरु नभेटिएको एमाले नेता राजेन्द्र पाण्डेले नेपाली रेडियो नेटवर्कलाइ जानकारी दिनुभयो ।
पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एकता र सहमती भइहाल्ने मलाई विश्वास लागेको छैन, मुख्य मुख्य कुराहरुमा विवाद र अडान उस्तै छ । मलाई त शंका नै लागिरहेको छ ।”
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता पाण्डेले यही अवस्थामा सहमतीको घोषणा गरिएपनि नेता कार्यकर्ताहरुको मन मिल्न भने झनै गाह्रो रहेको पनि उल्लेख गर्नुभयो ।
साथै पार्टीमा सक्रिय योगदान गरेका साथीहरुको भविश्यका बारेमा पनि कुरा मिल्नु पर्नेमा उहाँले जोड दिनुभयो । “पार्टी त मिलाउँला, तर मन मिलाउने काम कसरी हुन्छ, अन्याय र असुन्तुष्टिले सृजना विवाद सजिलै मिल्ला जस्तो लाग्दैन,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेकोले नै समस्या सृजना भएको उहाँको भनाई छ । “कमीकमजोरी ओलीजीले गर्ने, अनि त्यसको जवाफ चाहिँ सवै नेता कार्यकर्ताले दिनुपर्ने, उहाँले कसैसँग सरसल्लाह नगर्ने, सुझाव पनि नलिने र सहभागी पनि नगराउने भएकाले अहिलेको विवाद उत्पन्न भएको हो,” नेता पाण्डेले भन्नुभयो ।
नेकपा एमालेको सरकारले दलाल पँुजिपति बर्गको हितका लागि काम गरेको तर जनताको लागि काम गर्न नसकेको बारेमा माधव नेपाल पक्षले आवाज उठाएको उहाँले बताउनुभयो ।