काठमाडौँ । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो । कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् ।
यद्यपि दुबै पक्षले थप छलफल गरेर आउने भनेकाले विषय खुलाउन नमिल्ने नेताहरुले बताएका छन् । कार्यदलका सदस्य ज्ञवालीले भने पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरु लगभग सहमतिमा पुगेको बताएका छन् ।
सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन छलफल गर्नुपर्ने बाँकी रहेको भन्दै उनले भने, अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपु¥याएका छौं ।’
यद्यपि उनले पनि केके सहमति भयो भन्ने खुलाएनन् । भोलि अपरान्ह बस्ने बैठकले सहमतिलाइृ अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गर्ने कार्यदल सदस्य ज्ञवालीले बताए ।