काठमडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई उहाँका लामो समयदेखिका समर्थकहरुले नै छाड्दै गएको अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले दावी गरेका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बरिष्ठ नेता नेपालको व्यवहार र अडानका कारण उहाँलाई बर्षौदेखि समर्थन गर्दै आइरहेकाहरुले दिनप्रतिदिन छोड्दै गइरहेको दावी गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अहिले भइरहेको वार्ताबाट पनि सकारात्मक परिणाम नआएमा नेपालका अधिकांश समर्थकहरुले ओली पक्षमा सर्ने बताउनुभयो ।
पार्टी र कार्यकर्ताहरुको भविश्य नहेरी आफ्नो अधिकार र भूमिका मात्रै खोज्ने गरेकाले बरिष्ठ नेता नेपाललाई उहाँकै समर्थकहरुले समेत मन पराउन र विश्वास गर्न छाडेको नेता भट्टराईको भनाई छ ।
बरिष्ठ नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष ओलीलाई सरकार र पार्टी दुवै तर्फ सधैँ असहयोग मात्रै गरेको आरोप लगाउदै पराजित भएको व्यक्तिले निर्वाचित व्यक्तिलाई काम गर्न नदिदाँ समस्या आएको तर्क गर्नुभयो ।