काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले दिएका कैयौँ परम्परागत ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने उहाँको भनाइ छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञान भएको उल्लेख गर्नुभयो।
‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता हो,’ उहाँले भन्नुभयो, ‘मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौँ। हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौँ।’
प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण सम्वर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिनुभयो।
सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी गठबन्धनमा संलग्न नेता तथा तिनका क्रियाकलापका साथै आफ्नै पार्टीका नेताहरुको तीखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओलीले बिहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधीहरुको बेलिविस्तार लगाउनुभयो।
उहाँले पूर्वजहरुको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको दाबी गर्नुभयो।