काठमाडौं – नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलका नेताहरु आज पनि छलफलमा रहेका छन् । आजको बैठक ‘निर्णायक’ हुनसक्ने स्रोतले जनाएको छ ।
बैठक सोमबारदेखि लगातार बस्दै आएको छ । यद्यपि, सोमबार र मंगलबार भने बैठकले सहमति जुटाउन सकेन । तर, बुधबारको बैठक भने सहमतिनजिक पुगेर सकिएको थियो ।
बुधबार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
दुई शीर्ष नेताहरुबीच बुधबार विभिन्न विषयमा छलफल भए पनि सहमति भने जुट्न सकेन । पार्टीभित्रको शक्ति बाँडफाँड कसरी गर्ने भन्ने विषयमा ओली र नेपालबीच मुख्य विवाद देखिएको छ ।
दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल छलफलमा जुटेका हुन् ।
विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरूमा लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।
बुधबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।
कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरु पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।
अध्यक्ष ओली र वरिष्ठ नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो ।
यसैबीच, एमाले कार्यदलको वार्ता सिंहदरबारमा सुरु भएको स्रोतले जनाएको छ ।