काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पार्टी भित्रको कुरा मिलेमा काँग्रेस सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिनु ठूलो कुरा नभएको बताउनु भएको छ ।
पार्टी पुर्व अवस्थामा फर्किएमा देउवाका लागि गरेको हस्ताक्षर फिर्ता लिने कुरा स्वभाविक भएको उहाँले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा स्पष्ट पार्नुभयो ।
तपाईहरुले काँग्रेस सभापति देउवालाई फेरि धोका दिए र फेरि व्याक हुन लाग्नुभयो नी भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा उहाँले भन्नुभयो, “यो व्याक स्याकको कुरा हैन, साझा मान्यताबाट जाने कुरा हो, पार्टी मुख्य कुरा हो ।”
एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने बारेमा औपचारिक प्रस्ताव नआएको दावी गर्दै उहाँले कहीँकतै छलफल भएको भने हुनसक्ने संकेत गर्नुभयो ।
नेता नेपालले वार्ताका लागि रुची नराखेको भन्ने आरोपको खण्डन गर्दै रावलले नेता नेपाल नै सहमतीका लागि सवैभन्दा बढी लागेको दावी गर्नुभयो ।
एमालेलाई माओवादीसँग एकता हुनु पूर्वकै अवस्थामा फर्काउनु पर्ने र त्यसपछि भएका सवै निर्णयहरु खारेज गर्नुपर्ने आफुहरुको माग रेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
अहिलेसम्म भइरहेको छलफल सकारात्मक भएपनि वार्ता मिल्छ भनेर सुनिश्चित गर्न भने नसकिने उहाँले जानकारी दिनुभयो ।