काठमाडौं –नेकपा (एमाले)को कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख रहेको त्यहाँ सहभागी नेताहरुले बताएका छन् । बिहीबारसम्ममा टुंगोमा पुग्ने कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएका समस्या समाधान गर्न गठित कार्यदलको आज बैठक पौने १२ बजेदेखि सुरु भएको थियो ।
कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ । बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्य ज्ञवालीले जानकारी दिनुभयो ।
‘अहिलेसम्मको हाम्रो छलफलका आधारमा भोलिसम्म टुंगोमा पुग्ने विश्वास लिएका छौं’, बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले भन्नुभयो ।
यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेपछि पर धकेलिएको थियो ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त र भीम आचार्यलगायत छन् ।
यता, ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् ।