काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन आज जनकपुरधाम पुगेका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दबाब दिन खोजेको उहाँले आरोपसमेत लगाउनुभएको छ ।‘अदालतलाई दबाब दिएर ओली थप निरंकुश बन्न खोजेका छन् । यसका बीच पनि प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहन्छ’, उहाँले भन्नुभयो ।