काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भन्नुभएको छ ।
कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । उनीहरुले गत चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ ।
एकातिर अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउने र अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्दा कार्यकर्तामा के सन्देश जान्छ भन्दै उहाँले प्रश्नग गर्नुभएको छ ।
नेता कोइरालाले फेसबुकमा लेख्नुभएको छ, ‘आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो ।’
जोशी, ओझा र विष्टले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत–पसिनाको अवमूल्यन गर्ने काम भएको कोइरालाको टिप्पणी छ ।