काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशिल सदस्यता सम्वन्धी विवाद निर्धारित समयमा अन्त्य हुने दावी गरिएको छ । क्रियाशिल सदस्यता छानविन समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य प्रदिप पौडेलले समितिलाई तोकिएको समयावधि भित्रमा सदस्यताको टुंगो लाग्ने दावी गर्नु भएको हो ।
“पार्टीले यही असार मसान्त सम्ममा विवाद समाधान गर्न समयावधि दिएको छ, हामीले तोकिएको समय भित्र समाधान गर्छौँ,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता पौडेलले भन्नुभयो । उहाँले देशभरी नै विवाद भए झै हल्ला र चर्चा भएकोप्रति खण्डन गर्दै कुल सात प्रतिशत सदस्यता मात्रै विवादमा रहेको र अहिले त्यो चार प्रतिशितमा झरिसकेको जानकारी दिनुभयो ।
लाखौँ सदस्य संख्या र देशभरीको संरचनाका कारण छ÷सात प्रतिशत ठाउँमा विवाद हुनुलाई सामान्य र स्वभाविक रुपमा लिनु पर्ने उहाँको भनाई थियो । यो ठूलो समस्या नभएकाले अव क्रियाशिल सदस्यताका कारण महधिवेशनलाई कुनै असर नपर्ने पनि नेता पौडेलले स्पष्ट पार्नुभयो ।
उहाँले सदस्यता लिन चाहेका जति सवैलाई सदस्यता दिने व्यवस्था भएमा सदस्यताको विवाद नहुने पनि बताउनुभयो । काँग्रेस नेता पौडेलले अधिवेशन हुने बर्ष बाहेक अरु सवै समय काँग्रेसको सदस्यताका लागि खुल्ला हुनु पर्ने आफुहरुको मत रहेको जानकारी पनि दिनुभयो ।
“सदस्यता सधैँ सवैलाई खुल्ला गरिनुपर्छ भन्ने मान्यतालाई विधान संशोधनको बेलामा छलफल गर्ने हो, तर अहिले विधान अनुसारको सदस्यताको व्यवस्था गर्ने हो, त्यसका लागि काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
उहाँले पार्टीले दिएको जिम्मेवारी अनुसार सदस्यता सम्वन्धी विवाद समाधान गरेपछि मात्रै आफु उम्मेदवारीको तयारीमा लाग्ने स्पष्ट पार्नुभयो ।