काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् । आज बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेर उहाँसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।
‘पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकालौँ, त्यसका लागि अध्यक्षसँग एकपटक भेटवार्ता गरौं’, ओली पक्षका नेताहरुले नेता नेपालसँग प्रस्ताव गरेका थिए ।
उनीहरुको प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै, कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिनुभएको थियो । नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए ।
स्रोतका अनुसार भेटमा नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्तावबारे आफूले यसअघि नै जवाफ दिइसकेको भन्दै हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताउनुभएको थियो ।
एमाले एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरु आज नेता नेपाललाई मनाउन आज बिहान उहाँकै निवास कोटेश्वर पुगेका थिए ।
केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौंदासमेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसक्नुभएको छ ।
एमाले बैठकले नेता नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट नेताहरुले नेपाललाई भेटेका हुन् । समिट होटलमा पछिल्लो समय दिनहुँ भइरहेका वार्तामा ओली पक्षबाट पौडेल, नेम्वाङ र पोखरेल सहभागी छन् ।
वार्तामा प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि बेला बेला सहभागी हुने गरेका छन् । त्यस्तै नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुने गरेका छन् ।