काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुराकानीको विषय सार्वजनिक गर्न माग गर्नुभएको छ ।
सभापतिले प्रधानमन्त्रीलाई भेटेको विषयलाई लिएर विवाद भइरहेकाले उहाँहरुको भेटघाट र छलफलको विषय पारदर्शी हुनु पर्ने उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सभापतिले प्रधानमन्त्रीलाई कहिले कहिले भेटेर के के विषयमा छलफल गर्नुभयो भन्ने कुरा पारदर्शी हुनुपर्छ, पारदर्शी नहुदा गलत प्रचार भइरहेको छ ।”
देउवा र ओलीबीचको भेटघाटको विषयमा प्रधानमन्त्री निकटस्थहरुले नै नियोजित रुपमा गलत प्रचार गराइरहदा पनि सभापति देउवा निरन्तर भेट्न जानु आत्मघाती भएको उहाँको भनाई छ ।
उहाँले नेकपाको सरकारसँग काँग्रेसको कुनै भागबण्डा नहुने स्पष्ट पार्दै सभापति देउवाले भागबण्डा खोजेको भए गलत भएको दावी गर्नुभयो ।
“नेकपालाई जनताले पाँच बर्ष सरकार चलाउने जिम्मा दिएका हुन, हामी प्रतिपक्षमा छौँ, हामीले रचनात्मक र जिम्मेबार प्रतिपक्ष बाहेक सत्ताको लाभतिर लाग्नुहुदैन,” उहाँले भन्नुभयो ।
उहाँले नेकपालाई पाँच बर्ष सरकार चलाउन भनेको तर पाँच बर्ष सम्म ओली नै प्रधानमन्त्री हुनुपर्छ भनेर नभनेको स्पष्ट पार्नुभयो ।
काँग्रेस नेता पौडेलले सरकार चलाउन ओली अयोग्य भइसक्दा पनि नेकपाले अर्को योग्या नेता नभेटेको टिप्पणी गर्नुभयो ।