एजेन्सी – बलिउड अभिनेता आमिर खान र उनकी दोस्री पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेकमा छन् । उनीहरू दुवैले संयुक्त विज्ञप्ति जारी गरी डेढ दशक अर्थात १५ वर्ष लामो वैवाहिक जीवन अन्त्य भएको घोषणा गरेका हुन् ।
आमिर र किरणले २००५ डिसेम्बर २८ मा विवाह गरेका थिए । उनीहरूबाट १० वर्षीय छोरा आजाद छन् ।
‘यो १५ वर्षमा हामीले एकअर्काका साथमा एकदमै राम्रो पल बितायौँ । हाम्रो सम्बन्धमा भरोसा, सम्मान र प्रेम थियो । अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न गइरहेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘अब हामी पति–पत्नीका रुपमा होइन, आमाबुबा र परिवारका रुपमा रहने छौं । छोरा आजादका लागि हामी समर्पित आमाबुबा नै रहनेछौँ, जसलाई हामी मिलेर हुर्काउने छौं ।’
आमिर र किरणले सम्बन्धविच्छेद अन्त्य होइन बरु एउटा नयाँ यात्राको भएको दाबी गरेका छन् ।
‘हामीहरु चलचित्र, पानी फाउण्डेसन र अरु प्रोजेक्टमा पनि सँगै काम गर्ने छौं’, उनीहरुको भनाइ छ ।
बाहिर जे भने पनि उनीहरुबीच खटपट भएरै सम्बन्धविच्छेद भएको अड्कलबाजी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।
आमिरको पहिलो विवाह १९८६ अप्रिल १८ मा रीना दत्तसँग भएको थियो । २००२ मा आमिर र रीनाबीच सम्बन्धविच्छेद भएको थियो । उनीहरूका दुईवटा सन्तान जुनैद र आइरा छन् ।