काठमाडौं । नेकपा एमालेका सचिव भिम आचार्यले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा गरिएको हस्ताक्षर फिर्ता लिन एउटा मात्रै सर्त रहेको स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेकाले उहाँको गल्ती सच्याउन देउवाको समर्थनमा हस्ताक्षर गरिएको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा एमाले नेता आचार्यले ओलीले एउटा गल्ती सच्याए देउवालाई दिएको समर्थन फिर्ता लिन आफुहरु तयार रहेको जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय फिर्ता लिएमा आफुहरुले देउवालाई दिएको समर्थन पनि फिर्ता लिने स्पष्ट पार्नुभयो ।
“उहाँले गल्ती गरेकाले हामीले गल्ती सच्याउनका लागि देउवाजीको पक्षमा हस्ताक्षर गरेका हौँ, उहाँले गल्ती सच्याउनु भयो भने हामीले त्यो हस्ताक्षर गर्नै पर्दैन, स्वतः फिर्ता हुन्छ,” नेता आचार्यले भन्नुभयो ।
एमाले अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमाले नेताहरुले गरेको समर्थन आगामी सोमबारसम्ममा फिर्ता लिन निर्देशन दिएपछि नेपाल खनाल पक्षका नेता आचार्यले यस्तो जवाफ दिनु भएको हो ।