काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभामा पेस गरिएका विभिन्न अध्यादेशहरू अस्वीकारका लागि सूचना पेस गरेको छ ।
राष्ट्रियसभाको हिजोको बैठकमा नेपाल सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पेश भएको थियो । ती अध्यादेश नेपालको संविधानको मर्म र भावना तथा संसदीय परम्पराविपरीत रहेकोले अस्वीकारको सूचना आज पेस गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले राष्ट्रियसभामा ल्याइएका अध्यादेशहरू प्रतिनिधिसभा छलेर ल्याएको, सर्वोच्च अदालतले कामकारवाही रोकेका विषय समावेश रहेको तथा कतिपय विचाराधीन विधेयक नै अध्यादेशका रूपमा जारी गरेकोले स्वीकारयोग्य नभएको स्पष्ट पारेको छ ।
कांग्रेसको राष्ट्रिय सभा संसदीय दलले विभिन्न नौ अध्यादेश अस्वीकृत गर्न सूचना दिएको हो ।