काठमाडौँ – कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अन्त्य नहुँदै विपक्षी गठबन्धनका कार्यकर्ताहरु फेरि सडक प्रदर्शनमा उत्रेका छन् ।
संसद विघटनको विरोधमा जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दै विपक्षी गठबन्धनले सडकमा कार्यकर्ता उतारेर नारा जुलुस लगाउन सुरु गरेपछि नियन्त्रणउन्मुख हुन थालेको दोस्रो लहर फेरि उकालो चढ्ने सम्भावना देखिएको छ ।
काठमाडौँका सडकहरुमा विपक्षी कार्यकर्ताहरु दिनहुँ प्रदर्शन गर्न थालेका छन् । आज पनि विपक्षी गठबन्धनका विद्यार्थी सगंठनहरुको संयुक्त संघर्ष समितिले प्रदर्शनीमार्गमा जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला जलाएको छ ।
अघिल्लो पटक पहिलो लहर अन्त्य नहुँदै सत्ता पक्ष र प्रतिपक्ष दुवैले सडकमा शक्ति प्रदर्शन गरेपछि कोरोना संक्रमणले भयावह रुप लिएको थियो । दोस्रो लहरमा सयौँको मृत्यु भएको छ भने हजारौँ संक्रमित भएका छन् ।
संक्रमणको दोस्रो लहर निमिट्यान्न नहुँदै विपक्षी कार्यकर्ताहरुले फेरि सडक प्रदर्शन सुरु गरेपछि जनस्वास्थ्य विज्ञहरुले चिन्ता प्रकट गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम अन्त्य भैनसकेको जनाएको छ ।
प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अहिले पनि परीक्षण गरिएका पाँचजना मध्ये एकजनामा संक्रमण देखिएकाले जोखिम उच्च रहेको बताउनुभयो ।
अघिल्लो पटक राजनीतिक कार्यक्रमहरुले संक्रमण बढाएको उदाहरण दिँदै उहाँले फेरि पनि नारा जुलुस र प्रदर्शनका कार्यक्रमहरु भए संक्रमण नियन्त्रणमा लिन निकै गाह्रो हुने बताउनुभयो ।
कोरोना संक्रमण नियन्त्रणमा लिन भन्दै विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो पार्न थालिएको छ । काठमाडौँ उपत्यका लगायतका विभिन्न क्षेत्रमा निषेधाज्ञा खुकुलो पारिएको भए पनि भीडभाडजन्य गतिविधिमा भने निषेध यथावत नै रहेको गृहमन्त्रालयले जनाएको छ ।
तर सडकमा दिनहुँ प्रदर्शनजन्य गतिविभि भइरहँदा गृह मन्त्रालय निरिह जस्तै बनेको छ । प्रवक्ता जनकराज दाहालले जनस्वास्थ्य मापदण्डको उल्लंघन नगर्न आग्रह गर्नुभयो । कोरोना संक्रमणको जालो भत्काउन सरकारले लागू गरेका नियमहरु पालना नगर्नेलाई कारबाही हुने उहाँले बताउनुभयो ।
गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिए पनि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।
प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको भए पनि केही घण्टापछि छाडिदिने गरेको छ ।
यता विपक्षी गठबन्धनका नेताहरुले भने बाध्यताबस प्रदर्शनमा उत्रनुपरेको बताएका छन् । यद्यपि आफूहरुले जनस्वास्थ्यमापदण्डको पालनामा त्रुटि नगर्ने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताउनुभयो ।
नेता पौडेलको दाबी मान्ने हो भने विपक्षी गठबन्धनले भीडभाड गरेर सडक प्रदर्शनमा उत्रन कार्यकर्ताहरुलाई निर्देशन गरेको छैन ।
त्यसो हो भने कांग्रेस माओवादी लगायतका दलका कार्यकर्ताहरु पार्टीको नियन्त्रणमा छैनन् भन्ने देखाउँछ ।
तर यदि दलहरुकै निर्देशनमा सडकमा प्रदर्शन सुरु भएको हो भने यो मुलुक र जनताकाको जीवनप्रतिको गम्भीर खेलवाड हो ।