काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी एकता विपरीत गतिविधि गरेको आरोप लगाएका छन्। स्थायी कमिटि बैठकमा टुंगिसकेको विषयलाई सार्वजनिक समारोहमा व्यक्त गरेर प्रचण्डले पार्टी हित विपरीत कार्य गरेको उनीहरुको आरोप छ।
विषेशगरी पार्टीभित्र प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले प्रचण्डलाई पार्टी हित विपरीत गतिविधि गरेको आरोप लगाएका हुन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टीका अध्यक्ष केपी शर्मा ओली समेतको सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको आरोप लगाउनुभएको थियो। अध्यक्ष ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको बताउँदै प्रचण्डले पार्टी साच्चिकै संकटमा रहेको बताउनुभएको थियो।
तर प्रचण्डको यो आरोपलाई केपी ओली समूहका नेताहरुले खारेज गरेका छन्। स्थायी समिति बैठकबाट टुंगो लागिसकेको नेकपा एमाले दर्ता भएको प्रसंगलाई फेरि उचालेर प्रचण्डले आफै पार्टी एकता विरोधी गतिविधि गरेको उनीहरुको आरोप छ। ओली निकट युवा नेता महेश बस्नेतले पार्टी संकटमा छ भन्दै घोषणा गरेर आरोप लगाउने नेता खलपात्र बन्न सक्ने खतरा रहेको बताउनुभयो। निर्वाचन आयोगमा एमाले मात्र नभई तत्कालीन माओवादी केन्द्र समेत दर्ता भएको बताउँदै बस्नेतले आवश्यक परे दर्ता भएका दुवै पार्टीबारे छानबिन गर्न सकिने बताउनुभयो।
यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने अध्यक्ष प्रचण्डबाट ओलीले एमाले पार्टी दर्ता गराएको आरोप सार्वजनिक रुपमा लाग्नु आफ्नो कल्पनाभन्दा बाहिरको कुरा रहेको बताउनुभयो। नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले स्थायी कमिटिको बैठकमा एमाले दर्ताबारे कुरा उठेको र प्रधानमन्त्री ओलीले त्यसमा आफ्नो संलग्नता नरहेको कुरा प्रष्ट पारिसक्दा समेत अर्का अध्यक्ष दाहालले सार्वजनिक रुपमा त्यसरी बोलेका कुरा आफ्नो विश्वास भन्दा बाहिर रहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन थालेको अभिव्यक्ति दिएपछि बसेको स्थायी कमिटि बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता भएको थियो। यसबारे अध्यक्ष प्रचण्डले स्थायी कमिटि बैठकमा कुरा उठाउँदा कसैलाई नाम मन परेको भएर दर्ता गरेका होलान् उसो त माओवादी केन्द्र पनि त दर्ता भएको छ नि भनेर ओलीले जवाफ दिनुभएको विषय बाहिर आएको थियो।
यस्तै नेकपाभित्र नेपालको नयाँ नक्सा जारी भएको विषयमा पनि जस लिने होडबाजी अझै जारी छ । अध्यक्ष प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको निर्णय भएको बताउँदै उतिबेला आनाकानी गर्ने प्रधानमन्त्रीको देवत्वकरण र आफूहरुकाविरुद्ध मुर्दावादको नारा लगाइएकोमा पनि आपत्ति जनाउनुभयो।
प्रचण्डको ओ भनाईको पनि ओली पक्षका नेताहरुले तिखो आलोचना गरेका छन्। नक्साका विषयमा पार्टीको निर्णय लागु गर्न सरकारले सुरुमा आनाकानी गरेको र पछि सचिवालय बैठकमा आफूसहितका नेताले दबाब दिएपछि मात्रै प्रधानमन्त्री ओली त्यसमा सहमत भएको प्रचण्डको भनाईको ओली पक्षका नेताले खण्डन गरेका हुन्।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आफूले नक्सा प्रकाशन गरेको हो भन्न नमिल्ने बताउनुभएको हो। ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’ पोखरेलले फेसबुकमा लेख्नुभएको छ।
यसअघि नेकपाका उपाध्यक्ष बामदेव गौतमले पनि सचिवायल बैठकमा नयाँ नक्सा प्रकाशनको निर्णय आफ्नो दबाबमा भएकोले कसैलाई देवत्वकरण गर्न आवश्यक नरहेको भन्दै वक्तव्य जारी गर्नुभएको थियो ।