काठमाडौं । नेकपा एमालेको ओली पक्षले एकता अघिकै कमिटी व्युताउने निर्णय गरेपनि नेपाल-खनाल पक्षले भने त्यो मात्रै एकताको पर्याप्त आधार नभएको टिप्पणी गरेको छ ।
अदालतले पुरानै कमिटीबाट काम गर्न आदेश दिँदा समेत वेवास्ता गरेर एकलौटी महाधिवेशन कमिटि गठन गर्नु आफैमा गल्ती भएकाले अहिले त्यही एउटा गल्ती मात्रै सच्याइएको नेपाल खानाल पक्षको भनाई छ ।
प्रधानमन्त्रीका रुपमा र अध्यक्षका रुपमा केपी शर्मा ओलीले धेरै गल्तीहरु गरेकाले ती सवै गल्ती सच्याउने र आगामी दिनमा त्यस्ता गल्ती नदोहोरिने सुनिश्चितता गरेपछि मात्रै पार्टी एकता हुने नेपाल खनाल पक्षको अडान रहेको छ ।
एकताका लागि ओली पक्षले गर्नु पर्ने धेरै कामहरु मध्ये पुरानो कमिटि व्युताउने एउटा काम मात्रै गर्न लागेको खनाल नेपाल पक्षका नेता विरोध खतिवडाले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, अदालतले र हामीले चार महिना अगाडि माग गरेको कुरा अहिले आएर मात्रै उहाँले महसुस गर्नुभयो, त्यति बेला नै यो निर्णय गरेको भए सरकार र पार्टी आज राम्रो अवस्थामा हुने थिए, उहाँले अटेरी गरेकै कारण अहिलेसम्म धेरै क्षती भइसकेको छ ।
नेता खतिवडाले उहाँका कमी कमजोरीका कारण भएको क्षतीको पुर्ति कसरी गर्ने र कस्ले गर्ने भन्दै प्रतिप्रश्न गर्नुभयो ।
उहाँले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट भएका कमीकमजोरीप्रति माफी माग्दै आगामी दिनमा समान र सहमतीको व्यवहार हुने विश्वास दिलाउनु पर्ने बताउनुभयो ।
“विगतमा पनि यस्ता आश्वासन धेरै पटक आए, तर व्यवहारमा महसुस गर्न पाइएन, पेलेरै जाने, एकलौटी गर्ने नियत रहँदासम्म एकताको वातावरण बन्न सक्दैन,” उहाँले भन्नुभयो ।
पार्टीमा दिएको योगदान र क्षमताका आधारमा जिम्मेबारी दिने, सवै काम सहमती र परामर्शका आधारमा हुने, पक्षपात र एकलौटी नगरिने, दादागीरी शैली अन्त्य गर्ने, कसैलाई अन्याय नहुने सुनिश्चिता हुनुपर्ने सर्त पनि उहाँले राख्नुभयो ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गल्ती गरेकाले त्यही गल्ती सच्याउनका लागि आफुहरुले शेरबहादुर देउवालाई समर्थन गर्न बाध्य भएको पनि एमाले नेता खतिवडाले स्पष्ट पार्नुभयो ।