काठमााडौँ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ ।
बुधबार बिहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।
तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन ।
अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गर्नुभएको थियो ।
कारबाहीमा परेकाबाहेक सबैलाई बैठकमा बोलाइएको छ । यो बैठकबाट दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ ।
गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएन। यसपछि २ जेठ २०७५ को एमाले पार्टी कमिटी, विधान र नेतृत्व कायम गर्ने तयारी अध्यक्ष ओलीले गर्नुभएको छ।