गण्डकी । कालीगण्डकी डाइभर्सनका विरुद्धमा गण्डकी प्रदेशका सवै कडा रुपमा प्रतिरोधमा उत्रिने देखिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सर्वपक्षीय भेला नै गरेर डाइभर्सनका विरुद्धमा सवै एक जुट भएर उभिने निर्णय गराउनु भएको हो ।
प्रदेशको नामाकरणसँग जोडिएको र प्रदेशका सवै जनताको आस्था र आत्माको धरोहर कालीगण्डकीलाई कसैले चलाउन खोजे त्यसको कडा प्रतिवाद गरिने अठोट व्यक्त गर्नुभयो ।
डाइभर्सनको विरुद्धमा सवै पार्टी र सवै जातिका मानिसको एउटै स्वर रहेको जानकारी दिदै उहाँले भन्नुभयो, “डाइभर्सनको कुराले हामी सवैलाई धक्का लागेको छ, यो कुनै दल विषेशको कुरा हैन, हामी सवै एक ठाउँमा छौँ ।”
बुटवललाई प्रदेशको राजधानी बनाउछु भनेर चुनाव जितेका अर्थमन्त्री विष्णु पौडेलले त्यो पुरा नगरेपछि अर्को चुनावी एजेन्डाको रुपमा डाइभर्सनलाई प्रचार गर्न खोजेको मुख्यमन्त्री पोखरेलले टिप्पणी गर्नुभयो ।
“बुटवलमा राजधानी बनाउन नसके झै मन्त्री पौडेलले बुटवलमा डाइभर्सन पनि गर्न सक्नुहुन्न, डाइभर्सजन हुदैन भन्ने कुरा मन्त्री पौडेललाई पनि थाहा छ, तर चुनावी एजेण्डाको रुपमा मात्रै उहाँले यसलाई गरे झै गर्नु भएको हो, त्यसैले नझुक्कीन बुटवलवासीलाई पनि म आग्रह गर्दछु,” नेपाली बहसमा मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
मन्त्री विष्णु पौडेलप्रति लक्षित गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले विष्णु हैन, महेश्वर र ब्रम्हा आएपनि आफुहरुले कालीगण्डकी डाइभर्सन हुन नदिने अठोट व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी एमालेकै नेता तथा तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पनि डाइभर्सनलाई कालीगण्डकीको शिर छेदनको संज्ञा दिनु भएको थियो । उहाँले कालीगण्डकीको शिर छेदन गण्डकी प्रदेशका जनताको शिर छेदन जस्तै भएकाले त्यो सह्य हुन नसक्ने चेतावनी दिनुभएको थियो ।
उहाँहरु दुवैको अभिव्यक्ति र अडानप्रति आफ्नो पूर्ण समर्थन रहेको र सवैको साथ लिएर यसकाविरुद्धमा आफुले आन्दोलनको नेतृत्व गर्ने गण्डकीका मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाउनु भयो ।