काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक ध्रुविकरण अग्रगमन र पश्चगमनवीचको भएको दावी गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री केपी ओली र जसपाकै केही नेताहरु लोकतन्त्र र संविधान समाप्त पार्ने पक्षमा रहेको र पाँच राजनीतिक दलहरु लोकतन्त्र र संविधान जोगाउने पक्षमा उभिएको तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अहिलेको संघर्ष सत्ताका लागि नभई संविधान र लोकतन्त्रलाई ठिक बाटोमा ल्याउनका लागि भएको उल्लेख गर्नुभयो ।
नेता भट्टराईले आफुहरुको मुल उद्धेश्य कसैलाई ढालेर अरु कसैलाई कुर्सीमा राख्ने नभई लोकतन्त्रको संस्थागत विकासका लागि भएको बताउनुभयो ।
त्यसैगरी कुनै पार्टीहरुबीचको प्रतिश्पर्धा र लोकप्रिय देखिनका लागि गरिएको गतिविधिका रुपमा पनि यसलाई लिन नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रपतिले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेकाले अदालतले त्यही कुरालाई सच्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।