काठमाडौँ - युरोकपअन्तर्गत नकआउट चरणको खेलमा आज फिफा विश्व वरियताको नम्बर वान टिम बेल्जियम र डिफेन्डिङ च्याम्पियनबीच आज खेल हुँदैछ । यी दुईको खेललाई आज अधिकांश फुटबल पण्डितले ‘महाभिडन्त’को संज्ञा दिएका छन् ।
नेपाली समय अनुसार राति १२ः४५ बजे स्पेनमा हुने यस खेलमा डिफेन्डिङ क्रिस्टियानो रोनाल्डोसहित स्टार खेलाडी समावेश रहेको पोर्चुगल र उत्कृष्ट लयमा रहेको बेल्जियमबीचको यो भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
बेल्जियम समुह चरणमा समुह बी बाट सबै खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै पोर्चुगल भने यस युरोकपको ग्रुप अफ डेथ एफ मा रहेको थियो । सो समूहमा पोर्चुगलसँगै विश्व विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेका थिए । सोही समूह पार गर्ने क्रममा पोर्चुगल तेस्रो हुँदै तेस्रो हुने टिममध्ये उत्कृष्ट चारमा परेर नकआउटको यात्रा तय गरेको हो ।
बेल्जियम र पोर्चुगलबीच अहिलेसम्म भएका १८ खेलमा पोर्चुगलले ६ खेलमा जित हासिल गरेको छ भने ७ खेल बराबरीमा रोकिएका छन् । त्यस्तै बेल्जियमले ५ खेलमा जित हासिल गरेको छ ।
दुवै टिम २०१८ पछि पहिलो पटक खेल्दै छन् । पोर्चुगल बेल्जियमविरुद्धका पछिल्ला पाँच खेलमा अपराजित रहेको छ । जसमा ३ जित र २ बराबरी रहेका छन् ।

यस खेललाई रोनाल्डो भर्सेज रोमेलु लुकाकुको रुपमा पनि हेरिएको छ । रोनाल्डोले यस युरोकपमा अहिलेसम्म ५ गोल गर्दै आफू उत्कृष्ट लयमा रहेको प्रमाणित गरेका छन् । त्यस्तै लुकाकुले पनि अहिलेसम्म ३ गोल गर्दै रोनाल्डोलाई पछ्याइरहेका छन् ।
रोनाल्डो हाल अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोलकर्ताको कीर्तिमान राखेका इरानका अली देईको बराबरीमा रहेकाले उनले यो कीर्तिमानलाई उछिनेर नयाँ आफ्नो नाममा लेखाउने प्रयासमा हुनेछन् ।
रोनाल्डो र देईको अन्र्राष्ट्रिय गोल संख्या समान १०९ छ ।
त्यसैगरी, अन्तिम १६ कै अर्को खेलमा आज बेलुका नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच पनि प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार ९ः४५ बजे हुनेछ ।
समूह सीमा रहेको नेदरल्यान्ड्सले सबै तीन खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो ।

समूह डीमा रहेको चेक रिपब्लिकले भने एक खेल मात्र जितेको थियो । एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरोको चेक रिपब्लिक उत्कृष्ट तेस्रो स्थानको टिमको रुपमा नकआउट चरणमा पुगेको हो ।
यो खेल पनि प्रतिस्पर्धात्मक ने हुने अनुमान गरिएको छ । यद्यपि, कतिपय विश्लेषकहरुले भने यसमा नेदरल्यान्ड्स हाबी हुने बताइरहेका छन् । यो खेल रसियामा हुँदैछ ।
अहिलेसम्म इटाली र डेनमार्क क्वाटरफाइनलमा पुगेका छन् भने अस्ट्रिया र वेल्स नकआउट चरणबाट बाहिरिएका छन् ।