काठमाडौं – नेकपा (एमाले)ले महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण भनेको छ ।
आज बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले त्यस विरुद्धमा आफूहरु भ्याकेटमा गएको बताउनुभएको छ ।
‘जेठ २७ गते सर्वोच्च अदालतले गरेको आदेश गम्भीर र त्रुटिपूर्ण हो भन्ने हाम्रो निष्कर्ष हो । त्यसलाई बदर गराउनका लागि हामी भ्याकेटमा पनि गइसकेका छौँ’, उहाँले भन्नुभयो, ‘राजनीतिक दलसम्बन्धि ऐनमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बारेमा उल्लेख छ । यो दलहरुको नितान्त आन्तरिक विषय हो ।’
दलहरुको आन्तरिक प्रबन्धलाई बेवास्ता गरेर सर्वोच्चको आदेश आएकाले त्यो त्रुटिपूर्ण भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।
एमालेको महाधिवेशन आयोजक कमिटीले कर्णालीका सांसद्हरुलाई पार्टीबाट निस्कासित गरेकोमा सर्वोच्चले सो कमिटीको वैधतामा प्रश्न उठाउँदै अन्तरिम आदेशमार्फत् कारबाही खारेज गरिदिएको थियो ।
यस्तै एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेछ ।