काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्नुभएको छ । सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल भएको बताइएको छ ।
बैठक नभएर नेताहरुलाई छलफलको लागि बोलाइएको तर आफू भने स्वास्थ्य समस्याका कारण छलफलमा उपस्थित नभएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनुभयो ।
यसैबीच, पाँच दलको बैठक आज बूढानिलकण्ठमा बस्दैछ । आज साँझ ५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पाँच दलको बैठक बस्न लागेको हो ।
बैठकमा देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनेछन् ।
देशको पछिल्लो राजनीतिक घटनाका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।