काठमाडौं । आन्तरिक विवादमा फसेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ ।
अध्यक्ष उपेन्द्र यादवको आज विहान साढे ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेगरी बैठक बोलाउनु भएको हो । बैठकका लागि सवैलाई निमन्त्रणा गरिएको भएपनि महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्षका नेताहरु भने सहभागी हुने संभावना न्युन रहेको देखिएको छ ।
एक पक्षका नेताले अर्को पक्षका नेतालाई कारबाही गर्दै पार्टीबाट हटाइएको घोषणा गरेकाले सँगै बैठक बस्ने संभावना नदेखिएको हो ।
यादव पक्षको आजको बैठकले ठाकुर पक्षका केही नेताहरुलाई कारबाही गरेको विषयलाई थप अगाडि बढाउने निर्णय गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी निर्वाचन आयोगले पार्टीको पत्रलाई मान्यता नदिएकोले त्यसका विरुद्धमा सर्वोच्च अदालत जाने बारेमा पनि बैठकले निर्णय गर्ने नेताहरुले जनाएका छन् ।
अध्यक्ष यादवले पार्टी भित्र देखिएको विवादका बारे निर्वाचन आयोगले कुनै निर्णय नदिएपछि कानुनी तथा राजनीतिक लडाइको तयारीका विषयमा रणनीति बनाउन कार्यकारिणी समितिको बैठक बोलाएको बताउनु भएको छ ।
अध्यक्ष यादवले केही समयअघि जसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई कारवाही गरी सो बारेको विवरण अद्यावधिक गर्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाउनु भएको थियो ।
यसैगरी ठाकुर पक्षले पनि यादवसहितलाई कारवाही गर्दै विवरण अद्यावधिक गरिदिन आयोगलाई गुहारेको थियो । तर आयोगले भने दुबै समूहको पत्रलाई अस्वीकार गरिदिएको छ ।
त्यसपछि यादव पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै निर्वाचन आयोग जाने तयारीमा छ ।