काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलबीच लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल आज बिहान ९ बजे गौतम निवास भैंसेपाटी पुग्नुभएको थियो ।
दुई नेताबीच करिब चार घण्टा कुराकानी भएको बताइएको छ । दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भनेको छ ।
सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा अध्यक्ष केपी शर्मा ओली पक्ष अलमलमा परेको छ ।
त्यसका लागि अध्यक्ष ओलीले आफू निकटका नेताहरुसँग परामर्श गरिरहनुभएको बताइएको छ । सोहीअनुरप ओलीको सन्देश लिएर पौडेल उपाध्यक्ष गौतमकोमा पुगेको स्रोतको दाबी छ ।
एमालेमा दुई धार देखिए पनि उपाध्यक्ष गौतम भने तठस्थ बस्दै आउनुभएको छ । आफूले अझै पनि पार्टी एकतामै जोड दिइरहेको बताइरहनुभएको छ ।