एजेन्सी – कोपा अमेरिका २०२१ को उद्घाटन खेलमा साविक विजेता ब्राजिलले भेनेजुएलालाई ३–० ले पराजित गर्दै सहज जित निकालेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १–१ गोल गरे ।
खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
कोरोना संक्रमणका कारण भेनेजुएलाका ८ खेलाडीले कोपा गुमाउने भएपछि टोली केही कमजोर देखिएको थियो ।
दोस्रो हाफमा ब्राजिलले २ गोल थप्दै जित पक्का गरेको हो ।
खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए ।
खेलको अन्तिम समयमा ग्याब्रिएल बार्बोसाले नेयमारको पासमा गोल गर्दै जित सुनिश्चित गरे ।
यस जितसँगै ब्राजिलले समूह बिमा ३ अंक जोडेको छ । यस समूहको अर्को खेलमा आज कोलोम्बिया र इक्वेडर भिड्दैछन् । ब्राजिलले अब अर्को खेलमा पेरुको सामना गर्नेछ भने भेनेजुएलाले कोलोम्बियासँग खेल्नेछ ।
त्यस्तै, आज बिहान भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले हराएको छ । इड्विन कार्डोनाले ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगिताअन्तर्गत आज राति २ः४५ बजे अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, मंगलबार बिहान पारग्वे र बोलिभिया खेल्दैछन् । खेल बिहान ५ः४५ बजे हुनेछ ।