काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको व्यवस्था जोखिममा पर्न लागेको सूचना आफूले पाएको भनी सार्वजनिक गरेको केही दिनमै पाँच जना पूर्वप्रधानमन्त्रीहरुले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको जनाउ दिएर वक्तव्य जारी गरेपछि नेपालको राजनीतिक वृत्तमा नयाँ बहस पैदा भएको छ । यस प्रसंगमा अहिले सामाजिक सञ्जालमा पनि विभिन्न कोणबाट बहसहरु भैरहेका छन् ।
केही दिनअघि एक टेलिभिजन अन्तवार्तामा डा. भट्टराईले नेपालको राजनीतिक प्रणाली उल्ट्याउने गरी पर्दाभित्र विभिन्न खाले षडयन्त्र भैरहेको र त्यसको जानकारी आफूले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटरमै गएर दिएको बताउनुभएको थियो । तर प्रधानमन्त्रीले आफ्नो विषयलाई गम्भीरतापूर्वक नलिएर उल्टै भ्रमपूर्ण प्रचारबाजी गरेको उहाँको आरोप छ ।
डा. भट्टराईले देशको प्रणालीमाथि गम्भीर घात भइरहेको सूचना आफूले प्रधानमन्त्री लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत जानकारी गराएको उल्लेख गर्नुभएको थियो ।
विशेषगरी गएको पुस ५ देखि जेठ ७ गते मध्यरातसम्मका सबै राजनीतिक घटनाक्रमहरु ठूलो षडयन्त्रका परिदृष्यहरु रहेका डा. भट्टराईको दाबी थियो ।
डा. भट्टराईले यस्तो दाबी गरेको केहीदिनपछि उहाँसहितका पाँच जना पूर्व प्रधानमन्त्रीहरुले जारी गरेको वक्तव्यमा नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको जनाउ दिइएको छ ।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा भट्टराईले एक स्वरमा बाह्य शक्तिको हस्तक्षेपको विषय उठाएका छन् । राजनीतिक विश्लेषक डा. लोकराज बरालले पूर्वप्रधानमन्त्तीहरुको वक्तव्य अध्यन गर्दा उनीहरुले भारतलाई खबरदारी गरेको बुझ्न सकिने बताउनुभयो ।
नेपालमा ओलीलाई मात्र साथ नदिन पूर्वप्रधानमन्त्रीहरुले भारतलाई खबरदारी गरको देखिन आउने भारतका लागि पूर्व नेपाली राजदूत समेत रहनुभएका डा. बरालको तर्क छ ।
तर पूर्व प्रधानमन्त्रीहरुले एकै स्वरमा वैदेशिक हस्तक्षेपको कुरा उठाउनु अर्थपूर्ण विषय रहेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्रीहरुलाई भित्री कुराहरु धेरै थाहा हुने भएकोले पनि यस्तो वक्तव्य आएको हुन सक्ने उहाँले बताउनुभयो ।
डा. बाबुराम भट्टराईले पनि केही सूचना पाएर नै मुलुकका लागि खतरनाक षडयन्त्र भैरहेको विषय उठाएको हुन सक्ने उहाँले बताउनुभयो । सत्तामा रहेको दल पनि कमजोर भएको र विपक्षीहरु पनि कमजोर रहेकाले मुलुकमा संकट निम्तिन सक्ने अवस्थालाई नकार्न नमिल्ने उहाँको भनाइ छ ।
भारतको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेको आरोप पनि नेपालका विपक्षीहरुले लगाइरहेका छन् । विदेशीबाट पोषित ओलीकै कारण संविधान नै ध्वस्त हुने चरणमा जान थालको उनीहरुको आरोप छ ।
तर ओलीनिकट एमाले नेता पृथ्वीसुब्बा गुरुङले भने अहिलेको अस्थिरताको जड केपी ओली मात्रै नरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री र ठूलो पार्टीको हैसियतामा प्रधानमन्त्री ओलीलाई समस्याका कारकका रुपमा चित्रित गरिए पनि समस्या सबै दलभित्र रहेको उहाँले बताउनुभयो ।
कांग्रेसभित्र सधैँ झगडा हुनु, एमाले फुटको दिशामा अग्रसर हुनु, जसपा विभाजित हुनु लगायतका घटनाक्रमहरु शुभ संकेत नरहेका गुरुङको दाबी छ ।
तर प्रधानमन्त्री ओलीले नेपालमा बाह्य हस्तक्षेपलाई बढावा दिएको पाँच पूर्वप्रधानमन्त्रीहरुको आरोपको भने बालुवाटारले खण्डन गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले अरु प्रधानमन्त्रीको पालामा भन्दा अहिले वैदेशिक हस्तक्षेप तुलनात्मक रुपमा न्यूनिकरण गरिएको जिकिर गर्नुभयो । ओलीका कारण वैदेशिक हस्तक्षेप मौलाएको पूर्वप्रधानमन्त्रीहको वक्तव्य आधारहिन रहेको उहाँले बताउनुभयो ।
नेपालमा बाह्य हस्तक्षेपले यो वा त्यो रुपमा लामो समयदेखि स्थान बनाएको छ । सत्तामा रहेका बेला चुपचाप सहेर हस्तक्षेपलाई बढावा दिने र सत्ताभन्दा बाहिर रहेका बेला त्यसको चर्काे विरोध गरेर राष्ट्रवादी बन्न खोज्ने नेताहरुको कहिल्यै निको नहुने रोग भैसकेको छ ।
पाँच पूर्व प्रधानमन्त्रीहरुको वक्तव्यको मूल आशय पनि यही नै रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भैरहेको छ ।