काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे आह्वान खारेज गरेको छ ।
नेपालपक्षको स्थायी समिति बैठकले ओलीले एकताको लागि अघि सारेको ६ बुँदे प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।
आज बसेको स्थायी समितिको भर्चुअल बैठकले पार्टी एकताका लागि अध्यक्ष ओली तयार नभएको बरु उहाँले ६ बुँदे आह्वानमार्फत थप जालझेल गर्न खोजेको निष्कर्ष निकालेको नेता भीम आचार्यले जानकारी दिनुभयो ।
माधव समूहले संसद विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने अडान पनि लिएको छ ।
बरु अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनसहित अहिलेसम्म गरेका सबै असंवैधानिक कदममा आत्मालोचना गर्नुपर्ने माग माधव समूहको छ ।
स्थायी कमिटि सदस्य बेदुराम भुसालले अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता गराउने मनसायले मात्रै केपी ओलीले ६ बुँदे आह्वान गरेको दाबी गर्नुभयो । उहाँले ओलीका तर्फबाट आएको ६ बुँदे प्रस्तावले एकता भन्दा पनि विभाजनलाई बढी प्रसय दिएको टिप्पणी गर्नुभयो ।
हुन त प्रधानमन्त्री ओलीको ६ बुँदे एकता आह्वानलाई लिएर माधव समूहका नेताहरु नै विभाजित छन् । केही नेताहरुले ओलीको आह्वानलाई कपटपूर्ण भनेका छन् भने योगेश भट्टराई लगायतका नेताहरुले स्वागतयोग्य भनेका छन् ।
एकता चाहने हो भने सर्वाेच्चमा संसद विघटन बदर र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्तबारे पनि माधव समूहभित्र मतान्तर छ ।
तर कानुनविदहरुले भने प्रधानमन्त्री मन्त्री र सांसद भैसकेका व्यक्तिहरुबाट अदालतमा बुझाइसकेको हस्ताक्षर फिर्ता लिने विषय अदालतप्रतिको गद्दारी ठहरिने बताएका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशरीर उपस्थित भएर हस्ताक्षर बुझाएका सांसदहरुले अब हस्ताक्षर फिर्ता लिएर अदालतप्रति मजाक गर्न नसुहाउने बताउनुभयो ।
तर माधव समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिए पनि संसद विघटनविरुद्धको मुद्दामा कुनै तात्विक असर नपर्ने त्रिपाठीको भनाइ छ । उहाँले रिट निवेदक सबै १४६ जना सांसदहरुले नै अदालतबाट मुद्दा फिर्ता लिए पनि फरक नपर्ने बताउनुभयो ।
विपक्षी गठबन्धन बाहेकले पनि रिट दायर गरेकाले अदालतबाट संसद विघटन सम्बन्धी मुद्दाको न्यायिक निरुपण हुने उहाँले बताउनुभयो ।
चारैतिबाट विपक्षीले घेरेपछि कमजोर महसुस गर्दै प्रधानमन्त्री ओलीले माधव समूहसँग एकताका लागि लचकता प्रस्तुत गरेको कतिपयको तर्क छ । तर माधव समूहले ओलीले लचकता नभई फेरि पनि कपटपूर्ण जालझेल रचिरहेको बताएको छ ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले भने नेकपा एमालेका दुवै गुटले कपटपूर्ण राजनीति गरिरहेको बताउनुभयो । अब एमाले एक भए पनि दृघकालीन एकता भने सम्भव नदेखिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले एकताका लागि आह्वान गरे पनि माधवकुमार नेपालले ओलीसँग मिल्नुभन्दा विपक्षी दलका नेताहरुसँगको गठबन्धनलाई नै बलियो बनाएर लैजाने मनसायका साथ काम गरिरहेको देखिएको छ ।
ओलीको आह्वानको भोलिपल्टै नेता नेपालले विपक्षी दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुले पनि त्यस कुरामा बल पु¥याएको छ ।