काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुग्नुभएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफल सकेर उहाँ देउवाको निवासमा पुग्नुभएको हो ।
स्रोतका अनुसार प्रचण्ड र नेपालबीच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि आह्वान गरेलगत्तै प्रचण्ड र नेपालबीच आज राति पनि छलफल भएको थियो ।
योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विट र घनश्याम भुसाललगायतका आफ्ना समूहका नेताहरु ओलीप्रति सकारात्मक रहेको विषय बाहिरिएपछि यतिवेला नेपाल आफ्नै दबाबमा पुर्नभएको छ । यहीवेला उहाँले प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल गर्नुभएको बताइएको छ ।
प्रचण्डले कांग्रेस सभापति देउवासँग पनि यस्तै विषयमा छलफल गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।