काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ ।
शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ आज स्थगित भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरामी परेका कारण आज संवैधानिक इजलास गठन हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ । अब बुधबारमात्र संवैधानिक इजलास बस्ने बताइएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।
आइतबारको सुनुवाइमा सरकारी पक्षका अधिवक्ताले न्यायाधीश कार्की र भट्टराईबारे प्रश्न गरेपछि विवादमै इजलास सकिएको थियो र विषयमा प्रवेश गर्न पाएको थिएन ।
यसअघि गठन भएको संवैधानिक इजलासमा बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे रिट निवेदक अधिवक्ताले प्रश्न उठाएपछि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा इजलास गठन गर्नुभएको थियो ।
यता, महान्यायाधिवक्ता रमेश बडालले भने वरिष्ठताका आधारमा गठन भएको संवैधानिक इजलासप्रति आशंका रहेको बताउनुभएको छ ।
‘पूर्वाग्रहको आशंका भए पुग्छ भने आनन्दमोहन श्रीमान्ले नै लेख्नुभएको छ । हामीलाई यो इजलासमा आशंका छ’, संवैधानिक इजलासमा बहसका क्रममा आइतबार उहाँले भन्नुभयो ।