काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने विषयलाई लिएर सत्तारुढ नेकपा (एमाले)मा मात्र नभएर अन्य विभिन्न पार्टीभित्र पनि विवाद उत्पन्न भएको छ । जनता समाजवादी पार्टी (जसपा) त फुटिनै सक्यो । अहिले फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पनि विवाद उत्पन्न भएको छ ।
राप्रपाका दुई अध्यक्ष पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी एकातिर देखिएका छन् भने अर्का अध्यक्ष कमल थापा अर्कोतिर देखिएका छन् ।
थापा प्रधानमन्त्री ओलीको समर्थनमा देखिएका छन् । यता, राणा र लोहनीले भने संसद् विघटन गर्ने ओलीको कदमको विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन् । थापाले त्यसको समर्थन गरेका हुन् । राणा र लोहनीले भने त्यसलाई असंवैधानिक कदम भन्दै आएका छन् ।
यसै विषयलाई लिएर राप्रपामा विवाद उत्पन्न भएको स्वयम् अध्यक्ष थापाले नै बाहिर ल्याएका छन् । राप्रपाको विवादलाई उनले सामाजिक सञ्जालमार्फत उजागर गरेका हुन् ।
‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला? च्यापिएर थलापर्न बेर छैन’, अध्यक्ष थापाले फेसबुकमा लेखेका छन् ।
थापाले अर्का दुई अध्यक्ष राणा र लोहनीलाई अल्छी घोडा भनेका हुन् । उनीहरूसँग मिलेर राप्रपा गतिहीनन बनेको उनको आरोप छ ।
‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्रगति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो । तिहीन नै होला भन्ने सोचिएन’, भनेका छन् ।
