काठमाडौँँ । नेकपा एमालेका नेता डा.बेदुराम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वान पत्रमा एमालेको पहिलेकै अवस्थामा फर्किने आह्वान नगरिएको दावी गर्नुभएको छ ।
ओलीको वक्तव्य जालझेलपूर्ण र कार्यकर्तालाई अल्मल्याउने खालको भएको भन्दै उहाँले पुरानो एमालेमा फर्किने व्यवस्था वक्तव्यमा नभएको उहाँले तर्क गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, त्यो वक्तव्यमा पुरानै एमालेमा फर्किने कुरै छैन,माओवादी नेतासहितको एमालेमा फर्काउने भनिएको छ ।
त्यसैगरी अवदेखि कसैलाई कारबाही नगरिने उल्लेख गरेपनि विगतमा भएको कारबाही फिर्ता भएको सुनिश्चितता वक्तव्यले नगरेको उहाँको भनाई छ ।
“पार्टीका शिर्ष र प्रभावशाली नेताहरुलाई उहाँहरुले निश्कासन गरिएको घोषणा गर्नू भएको छ, तर उहाँहरुका बारेमा ओलीले केही बोल्नु भएको छैन, भूसालले भन्नुभयो ।
प्रधानमन्त्री ओलीको वक्तव्यलाई नेता भूसालले एकता गर्न खोजिएको वक्तव्य नभइ थप भाँड्न खोजिएको वक्तव्यको संज्ञा दिनुभएको छ ।
वक्तव्य विधि र प्रक्रियाको कुनै व्यवस्था नभएको र ओलीले आफुलाई जे मन लाग्यो त्यही गर्ने कुरा मात्रै रहेको उहाँले टिप्पणी गर्नुभयो ।
पुरानो एमाले फर्काउन हो भने त्यतिबेलाको कमिटिको बैठक बोलाउनु पर्ने र सवै निर्णय त्यहाँबाट गर्नु पर्ने नेता भूसालको भनाई छ ।
त्यसैगरी सरकारले गरेका देश र जनतालाई घात हुने गलत निर्णय तथा क्रियाकलापहरु पनि सच्याउनु पर्ने उहाँको शर्त छ ।