काठमाडौं - महान्यायाधिवक्ता रमेश बडालले आफूहरुलाई आज गठन भएको संवैधानिक इजलासप्रति आशंका रहेको बताउनुभएको छ ।
‘पूर्वाग्रहको आशंका भए पुग्छ भने आनन्दमोहन श्रीमान्ले नै लेख्नुभएको छ । हामीलाई यो इजलासमा आशंका छ’, आज संवैधानिक इजलासमा बहसका क्रममा उहाँले भन्नुभयो ।
स्रोतका अनुसार इजलासमा जारी बहसमा महान्यायाधिवक्ता बडाल आज कडा रुपमा प्रस्तुत हुनुभएको थियो । उहाँले, 'अदालतले स्थापित गर्न खोजेको न्यायिक परम्परा के हो ?',भन्दै आक्रोश पोख्नुभयो ।
यता, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिनुभएको छ । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिनुभएको हो ।
प्रधानन्यायाधीश राणाले आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको थियो । संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छान्नुभएको छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुन् । आफूमाथि प्रश्न उठे पनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन ।