काठमाडौं । लामो समयदेखि मुलधारको पत्रकारिता गर्नुभएका युवा पत्रकार बालकृष्ण बस्नेत प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त हुनुभएको छ ।
कानुनका विद्यार्थी समेत रहनु भएका पत्रकार बस्नेतले लामो समय अदालती रिपोटिङ समेत गर्नुभएको थियो । केही बर्ष अगाडिसम्म उहाँ कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्थ्यो भने अहिले खुल्ला नेपाल अनलाइनको सल्लाहकार हुनुहुन्छ ।
दोलखा घर भइ काठमाडौमा बस्दै आउनु भएका बस्नेत नेपाल पत्रकार महासंघको महासचिवको उम्मेदवार हुनुभएको थियो भने त्यसअघि महासंघकै केन्द्रीय सदस्य हुनुभएको थियो ।
पत्रकारिता र कानुनका विज्ञ बस्नेतले पत्रकारिता क्षेत्रको नियमक निकाय काउन्सिलको अध्यक्षका रुपमा चार बर्ष नेतृत्व गर्नुहुने भएको छ । मन्त्रीपरिषद्को बिहीबारको बैठकले उहाँलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि अध्यक्ष नियुक्त हुनुभएका भवानीप्रसाद बरालको विरुद्धमा सर्वोच्च अदालतमा मुद्धा परेपछि उहाँ निलम्बित हुनुभएको थियो ।
अदालतले फैसला पनि नगर्ने र बरालले राजीनामा पनि नदिने भएपछि बरिष्ठ सदस्यको रुपमा केही समय किशोर श्रेष्ठ र केही समय गोपाल बुढाथोकिले कार्यबहाक अध्यक्षको रुपमा जिम्मेबारी निर्वाह गर्नुभएको थियो ।
यही बीचमा अध्यक्षमै नियुक्त पोखराकी दुर्गा पौडेलको नियुक्ती पनि विवादमा परेपछि सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । उहाँ अहिले सदस्यको रुपमा रहनु भएको छ ।
प्रेस काउन्सिललाई सञ्चार क्षेत्रको अर्धन्यायिक निकाय मानिन्छ ।